Dinesh Subba |
"नौ लाख तारा उदाए" लिएर कवि अगम सिंह गिरी र अम्बर गुरुङ स्वाभिमानको बुलन्द आवाज निकाले । गहकिला साहित्यिक आयामहरु प्रतिपादन गरे । थुप्रै थुप्रै कलम र स्वरहरु क्रियाशील रहे । यसैको निरन्तरतामा आए बहु आयामिक स्रष्टा नोर्देन रुम्बा । कवि तथा गीतकार नोर्देन रुम्बालाई समयले चिन्न नसकेको हो या त समयलाई उनले चिनाएको हो यसको निचोड समयले नै निकाल्ला । तर यो यतिबेला मात्रै संभव छ जब हामी उनको कृति, दर्शन, दस्तावेज आदिको चर्चा परिचर्चा गर्दछौं ।
एक क्षण कवि रुम्बालाई पढौं,
"कुरा नलुकाई भन्न मन लाग्छ
आँखा छ हाम्रो आँखा छ हाम्रो
तर देख्छ अरुले
कलम छ हाम्रो कलम छ हाम्रो
तर लेख्छ अरुले
गाउँ छ हाम्रो गाउँ छ हाम्रो
तर बस्छ अरु नै
जीवन छ हाम्रो जीवन छ हाम्रो
तर खेल्छ अरु नै "
यो अर्को म्यानिस्फेस्टसन हो र हो वैचारिक लडाईंको प्रबल पक्ष । हेर्दा हेर्दै हङकङवासी नेपालीले वैचारिक लडाईं घोषणा गरेको अवस्था छ अहिले । यदि हाम्रो सवालहरु सशक्त पार्नु छ भने त्यस्ता ब्यक्तिहरुका संझना गर्न पर्दछ जसको उत्सर्गका गाथाहरुले प्रेरणाका मूल फुटोस् । अलिक ढिलै भए पनि कवि, गीतकार नोर्देन रुम्बालाई बुझ्न खोजौं । यही बुझ्ने क्रममा हामी ४,५ साथी भाइको अगुवाइमा स्वर्गीय रुम्बालाई पुनर्स्मरण गरौं भन्ने निधो गर्यौं ।
म धेरै कुरा बिर्सन्छु । तर संझना गर्ने कोशिस गर्दा २० को १९ पनि नहुनु मेरो विस्मृतिमा ह्रास आएको या त चढ्दो उमेरको प्राकृतिक प्रक्रिया हो भन्ठान्छु । यसति बेला म यसरी घोत्लिरहेको छु दाजु नोर्देन रुम्बासित मेरो मित्रता अगाध थियो । मैले उनको ४, ५ वटा गीतमा काम गर्ने मौका पाएँ तर उनीसित कसले र कहिले परिचय गराइदिए मैले संझना गर्न सकेको छैन ।
मैले यसो किन भनिरहेको छु भने जसले उनी जस्ता प्रखर व्यक्तित्वसित भेटाइदिए उनीप्रति म आभार हुनै पर्दछ । मैले मेरो सांगीतिक खेतीको बीजारोपन म जन्मी, हुर्की र पढेको ठाँउ दार्जिलिङको लोभलाग्दो परिवेशमा भएको हो । तर फुल्ने मौका रेडियो नेपालले दियो । पाटनको नजिकैको टोलमा बसोबास गर्नाले मेरो सामीप्य इलामे कलाकारहरुसित भयो । मानसिं थुलुङ, कुबेर राई, बुध्दवीर लामा र यिनै मार्फत् सूर्य थुलुङ र अन्य कलाकारसित पनि भयो । दैनिक भेटघाट एवं गाना बजाना हुने हाम्रो नियमित कार्यमा पर्दथ्यो । त्यसै ताका नोर्देन रुम्बाको शब्द रचना धनञ्जय थापाको संगीतमा "बादलुको दरबारमा पहाडको मेला" बोलको गीतबाट गायक सूर्य थुलुङ लोकप्रिय भए । म यसै गीतबाट दाजु नोर्देन प्रति अति प्रभावित भए यद्यपि उनका अन्य भब्य सृजनाहरु प्रकाशनमा आइसकेको थिएछ । प्रकृतिलाई समाहित गरेर लेख्ने उनको विशेष शैली नै उनको पहिचान हो जस्तो लाग्छ । अझ तीन स्रष्टा अरुणा लामा, कर्म योञ्जन, र नोर्देन रुम्बाको विशिष्ट सृजना "फूललाई सोधेँ कहाँ गयो" रेकर्ड भएपछि उनको गीत लेखनमा आकर्षित नहुनेको पो थिएन होला र । मैले वहाँलाई महान ब्यक्तिको रुपमा हेर्न थालेँ । मेरो प्रत्येक पल्टको दार्जिलिङ भ्रमणमा उनलाई नभेटी मेरो मनोकामना पूरा हुँदैनथ्यो । श्रीमतीसित बडा काक झोडामा डेरा लिई बसेको संझना छ । जब म वहाँलाई संझिन्छु खपटे अनुहार तर सधैं हँसिलो र रसिलो मुद्रामा गफ गर्ने गरेको संझना मेरो आँखामा अझै पनि घुमिरहन्छ । वहाँ त्यसबेला स्टेट बैंक अफ इन्डियाको कर्मचारी हुनुहुन्थ्यो । हाम्रो भेटघाटको मीठो माध्यम बोतल नै हुने गर्दथ्यो । म जस्तो संघर्षरत् कलाप्रेमीलाई एकै वचनमा गीत दिनु आज संझिन्दा वहाँको महानता हो जस्तो लाग्छ भने अर्कोतिर कस्तो साहस गरेछु त्यसबेला भनेर आफैं लज्जित हुन्छु । तर कोशिसको परिणाम सकारात्मकै हुने गर्दछ । यसकारण कि वहाँले दिनु भएको पहिलो गीत "उडी गयो डाँफे चरी कुन दिशा थाह छैन " गायक धर्मेन्द्र नेम्वाङले आफ्नो क्यासेटमा राख्नुभयो मेरो संगीतमा । जब कि क्यासेटमा गाउनु प्रतिष्ठाको विषय हुन्थ्यो त्यसबेला । भाइ धर्मेन्द्र मार्फत बहिनी पवित्र सु्ब्बा सित चिनजान भयो । धर्मेन्द्र र मैले यो गीतलाई न्याय गर्यौं वा गरेनौं एकातिर छ तर दाजु रुम्बाले हाम्रो कार्यको अनुमोदन गर्नुभयो । वहाँको मुहार मा खुशीको अभिव्यक्त आज पनि म भुल्न सक्दिनँ । ४, ५ वटा नयाँ गीत बोकेर
म काठमाण्डौ फर्किएँ । लगत्तै रेडियो नेपालमा अर्को रचना र मेरो संगीत रहेको अर्को गीत रेकर्ड गर्यौं राम गुरुङ र मेरो युगल स्वरमा । र त्यो गीतको बोल हो "
ढाका टोपीमा हेर या गलबन्दीमा हेर
मैले बोकेकोछु मैले बाँधेको छु
निर्माया तिम्रै मायालाई"
पछि गएर यही गीत कलाकारद्वय बद्री दुर्गा खरेलले पनि रेकर्ड गर्नु भएछ ।
गायक राम गुरुङ र मेरो गाढा मित्रताको कारणले होला प्रत्येक रेडियो नेपालको गाउने डेटमा मेरो संगीत उनको रोजाइ पर्दथ्यो । त्यसै गरी अर्को गीत "चौतारीमा एक्लै बसी मैले के के संझे, भनूँ भने बेस्करी तिमीलाई नै संझेँ" नामक बोलको गीत पनि राम गुरुङकै स्वरमा रेकर्ड गराइयो । यसरी अन्य गीतहरु पनि गरिएको छ तर यही हो भनेर अहिले नै यकिन गर्न सकिने अवस्था भने छैन । दाजुसित अन्तिम पटक टि बि अस्पतालामा भएको हो, वहाँ बिरामी हुनुहुन्थ्यो र अस्पतालकै लुगामा बाहिर बसेर लामो कुराकानी गर्यौं । अन्त्यमा हिँड्ने बलेा केही ल्याउन सकिनँ यसो तातो चिसो खानुस् भनेर केही रकम हातमा थमाई म विदा भएँ ।
थोरै भएपनि वहाँसित संगत हुनु मेरो लागि अहोभाग्य ठान्दछु । वहाँ अङ्ग्रेजी साहित्यमा धेरै दख्खल राख्नु हुन्थ्यो । गद्य र पद्य दुवै विधामा वहाँको अङ्ग्रेजी लेखाई विशिष्ट थियो । र नै हामीलाई पनि पाश्चात्य विद्वान कार्लाइल, आल्फ्रेड आस्टिन, फुलर जस्ता संगीत दर्शनहरु पढ्ने सुझाव दिनुहुन्थ्यो । संगीतमय विचार नै काव्य हो भन्ने अन्तरतम् बुझाइले उनको कवितामा काव्यको आत्मा पाउँछौं । र अन्तमा मैले पनि दार्जिलिङका सडकहरुमा कुनै समय उस्तै नियतिहरु भोगेको कारण दाजुको गीत सुनेर भावविभोर हुन्छु अर्थात् नोस्टाल्जिक बन्छु -
"सधैं यो सडक मा म के के खोज्दै हिडछु,
आफन्त को माझ मा परिचय खोज्दै हिडछु
भुलेर बजारभरिका हजार बैंश हरु
भुलेर बजारभरिका हजार बैंश हरु
म त आफूलाई हराइ आँफै खोज्दै हिडछु "
No comments:
Post a Comment