Thursday, May 15, 2014

शब्दसित साइनो गाँस्दै-५१ ,किरणकुमार राई


Kiran K. Rai

कवि नरदेन रूम्बा
“कहीँ तिमीलाई नदेखेको भए पनि हुन्थ्यो
त्यो लजालु आँखाले मलाई नछेकेको भए पनि हुन्थ्यो
यसै पनि रूखो छ जिन्दगी,
उसै पनि फिका जिन्दगी
त्यो मुस्कानको रङ्ग मलाई भए पनि हुन्थ्यो।”
उपर्युक्त हृदयस्पर्शी गीतका गीतकारसित भौतिकरूपमा साक्षात् हुने अवसर हामीले धेरैवर्षअघि गुमाइसकेका छौं।
समयलाई चुनौती दिँदै ईश्वरले उघारेको ढोकाभित्र उनी सुटुक्कै भित्रिसकेका छन् धरणीतलमा विराट् शून्यता सृष्टि गरेर। उनको सशरीर उपस्थितिको आभास यो स्तम्भकारले भोग्न पाएन, थकथकी त्यसै निम्ति अन्तरभित्र सधैंको यो। उनै विलक्षण प्रतिभाधारी व्यक्तित्वलाई हामी कविताकार नरदेन रूम्बा-को नामद्वारा जान्नेगर्छौं, पुज्नेगर्छौं। दुइ कोरी उमेरको जीवन जिएर सबैको मुटुमा अमेट छाप छोड़ेर जानसक्नै उनी एक सफल कविताकार, गीतकार हुन्। नेपाली साहित्यमा रचिएको उत्कृष्ट रचनाहरूलाई अङ्ग्रेजी भाषामा सफलतापूर्वक अनुवाद गर्नसक्ने अनुवादक पनि उनी हुन्। मुटुभित्र अटेसमटेस भएर बसेका भावनाहरूलाई उनले सहीरूपले कवितात्मक अभिव्यक्ति दिएर नेपाली साहित्यका पृष्ठहरू सजाइदिएका छन्। गर्वित छौं, हर्षित छौं उनका सृजनाहरू नेपाली साहित्यका अमूल्य निधि भएको देख्दा, नेपाली साहित्य धनी भएको पाउँदा।
हृदयस्पर्शी गीत लेखेर पाठकहरूको, श्रोताहरूको हृदयरूपी सिंहासनमा आसन जमाउन समर्थ उनका गीतहरू नेपाली गायन क्षेत्रका प्रतिभाहरू- नारायण गोपाल, अरुणा लामा, मीरा राणा, कुमार सुब्बा, बद्री-दुर्गा खरेल, दावा ग्याल्मो, पेमा लामा, पवन गोले, उदय सोताङ आदिका सुमधुर कण्ठमा वाणीबद्ध भएर नेपाली श्रोताहरूका मुटुमा झञ्कृत भइरहेका छन्, भइरहनेछन् अनन्त कालसम्म। ओजस्वी एवम् गहन अर्थ वहन गरेका कविता लेख्नसक्ने उनका सन् १९७८मै कविता-सङ्कलन `प्रक्षेप’ प्रकाशित भइसकेको हो, ’नरदेन रूम्बाका कृतिहरू’ उनकी प्रेयसी-पत्नी श्रीमती साबी रूम्बाको तत्परता एवम् बसुधा प्रकाशन, दार्जिलिङको सौजन्यबाट प्राप्त भई हामी अनुगृहीत बनेका छौं।
कविताहरू उनका प्रभावशाली र मर्मस्पर्शी छन्, जसबाट कतिपय लहरहरू टिपेर स्पर्श गरिहेरौं-
“मलाई वास्तवमा रगत उम्लिने कुराहरू मनपर्थ्यो
मलाई रगत मनपर्थ्यो
मलाई सिस्नुहरू फाँड़्नु मनपर्थ्यो
मलाई उसको कुरा, उसको मप्रतिको माया मनपर्थ्यो
तर ऊ हरायो।
खेतहरू त्यतिकै छोड़ेर
गाईहरू दाम्लोमै राखेर
आमाको, स्वास्नीको अलिकति सुन बन्धकी राखेर
छोरालाई, केही नसिकाई, स्कूलमै छोड़ेर
ऊ हरायो...
तर, ऊ अभाग्यवश म स्वयं थिएछु।“
(केहीक्षण उसको सम्झनामा)
“म जहाँ छु कोही पनि आइपुगिसकेका छैनन्
म आफै पनि आइपुगिकेको छैन।
आजकल यहाँ मान्छेहरू केही होइनन्
आकाश पनि केही होइन छैन रहेछ।
हत्या केही होइन।
अनुहारहरू मात्र पीड़ित संवेदनाहरू
म यसरी हेरिँदैछु, योगेष
हो, यहाँबाट ईथाका धेरै टाड़ो पर्छ।“
(योगेषको नाममा)
“सपनाहरू त सपना नै हुन् सबैले देख्ने गर्छन्
कागजहरू कागज नै हुन् सबैले लेख्ने गर्छन्
म आँसुहरूलाई के भनुँ दुःखको ज्वालामुखी
म घाउहरूलाई के भनुँ यति दुःखी दुःखी
म नदी भित्रभित्रै एकदिन झरेपछि
सायद चिन्छौ होला तिमीले मलाई।“
(टाढ़ा आकाशमा एकदिन)
“केवल एक टुक्रा आकाश
र एक चोक्टा धरती
केही खोला र केही नदीका साँधहरू
धुप्पीका रूख, चाँप र गुराँसहरू
उकालो ओरालो बाटो
चिनेका साथी र दुश्मनहरू
तिम्रो देश होइन सायद।
इतिहासको ढक्का लिएर
पृथ्वीको आँगनमा मान्छेले
रिङपाट खेल्न कोरेका रेखाहरू
तिम्रो देश होइन सायद।
तिमी हृदयले फैलिन नसक्नेसम्म
तिमी शिरले जहाँसम्म हुन्छ उठ्न नसकेसम्म
तिम्रो देश हुँदैन पनि सायद।“
(देश)
“आजसम्म तर मैले उसको आँचलमा
पुरानो भइसकेको सत्य र विश्वास मात्र दिनसकेको छु-
मेरो पाखुरामा नयाँ जोश, नयाँ होश
र नयाँ शक्तिको सञ्चार हुनेछ-
रगत रातो आफ्नो हातमा उठाएर
उसको सिउँदो भर्दिन मैले अझै बाँकी नै छ
उसको अङ्कमालमा आत्मसात भएर
सेतो घोड़ामा
नयाँ मयलपोश लाएर
जिन्दगीसित नयाँ सहीछाप गर्न मैले बाँकी नै छ।“
(बिहान)
उनका गीतका केही पङ्क्तिहरू पनि उद्धृत गरिहालौं-
“मेरा सबै रात अब मातहरू भए
जिन्दगी नै नबुझिने बातहरू भए
आफैलाई राख्ने यहाँ कुनै ठाउँ भएन
सबै बात बेहाशीका बरातहरू भए।“
“बान्की परेको माया बान्की परेको
तिम्रो त मुस्कान नै बान्की परेको
लहसिने एकै चोटमा दिल बसिहाल्ने
तिम्रो त जोबनलाई कसले बुट्टा भरेको।“
“आजको यो रात त्यसै
नयाँ नयाँ लाग्दैछ
यो रक्सीको मात पनि
नयाँ नयाँ लाग्दैछ
धेरै नै भयो ईमान मेरो लुटिसकेको यहाँ
युग नै बित्यो कथाभरि म छुटिसकेको यहाँ।“
“म मरेपछि मेरा टुहुरा सपनाहरू
सायद कुनै आँखामा बास माग्न आउनेछ
विवश भएर मेरा सारा विपनाहरू
कतै कहीँ जीवनको आभास माग्न आउनेछ।“
उनीद्वारा सृजित कविता एवम् गीतहरूमाथि विद्वान साहित्य-लेखनकारहरूको मन्तव्य यसरी पोखिएका छन्-
“कवि नरदेन रूम्बाले आफ्ना प्रखर यौवनकाल, मात्र चालीस वर्षको उमेरमै समाजलाई स्वच्छन्दतावादी धाराका गीतहरू दिएर गए। ....उनी जीवन, जगत, भाषा र संस्कृतिबारे जसरी हृदयलाई स्पर्श गर्ने गीत रच्दथे- उसरी आध्यात्मिक भक्तिभावका भजन रच्नमा उनको विशेषता देखिन्छ। गीत रचनामा उनको रूझानले गीत लोकप्रिय बनेको हुन्थ्यो। यस्ता केही गीत र कविता छन्, जुन स्थान र कालको सीमा नाघेर कालजयी भएका छन्।“ –डा. लक्खीदेवी सुन्दास।
“आधुनिकताबोध, अन्तर्राष्ट्रीयताबोधको प्रभावहरूलाई आत्मसात गर्दै बुद्धिहरूमा मन्थन दिँदै बिम्ब, प्रतीक र प्रयोगहरूद्वारा, त्यसको समूहयोजनामा हृदयले, ती अनुभूतिहरू कवितामा अभिव्यञ्जना पाइने गर्दछन्। लयदार, सङ्गीतमय कविताहरू, राम्रो शिल्प, असल शब्द योजनाबाट, कहीँ विद्रोह र क्रान्तिहरू पनि देखा पर्ने गर्दछन् ती कविताहरूमा। युगबोध समय सापेक्षतामा पनि अत्यन्त सशक्तता देख पर्ने हुन्छन्- कविताहरू।“ –हरेन आले।
“मान्छेको जीवनानुभूति, भोगाइप्रतिको दृष्टिभङ्गी, प्रतिक्रिया र उनले खोजेको दिशा एक अमूर्त, अस्पृश्य र अदृष्टित विषय हो। उनका गीत र कविताका धरातल सदैव चिसो एवम् भिजेको देखेका छौं हामीले। नेपाली कविता-यात्राका एक ऐतिहासिक स्वर्णिम मोड़, कवितामा आधुनिकताको एक उज्ज्वल दृष्टान्त कवि अगमसिंह गिरी, कवि हरिभक्त कटुवाल जस्तै स्व. नरदेन रूम्बा पनि औधि प्रतिभासम्पन्न कवि थिए, मूलतः वेदनाकै कवि।“ –विन्द्या सुब्बा।
“नरदेन रूम्बा नितान्त टापु एक अहमी पहाड़। ...चौतर्फी (मानसिक/सामाजिक) अन्याय र शोषणको अराजकताले कवि नरदेनको भावुक हृदयमा ठेस् दिएको। कवि सकसबोधमा बाँचेको अर्थ पनि यही होला।“ –नरेशचन्द्र खाती।
वरिष्ठ साहित्यकार शरद छेत्री-ले उनको सामीप्यमा रहेर उनका व्यथाहरूलाई अनुभूत गरेका कुराहरू यसरी व्यक्त गरेका छन्- “त्यसरी व्यक्ति नरदेन र कवि-गीतकार नरदेनमा लगातार द्वन्द्व भइरहेको हुन्थ्यो। तरैपनि सबैकुरालाई ग्रहण गरेर दुःखहरूलाई पनि मिठासपूर्वक शब्दहरूमा अभिव्यक्त गर्नाले हामीले नजिकैमा भएर पनि तिनका दुखेसा र चोटहरूलाई बुझेनौं। हाम्रोमा संवेदनशीलता कक्रिसकेको छ. हाम्रो परिचय समेत त्यही गाँठोभित्र कुच्रिएको हाम्रो समाजले कसरी पनि कवि नरदेन रूम्बाको भावनालाई बुझेन। समयमा नै सम्मान र संरक्षण गर्न जानेन। त्यसरी गुमाएका थियौं हामीले हाम्रा एउटा अमूल्य रत्नलाई केवल चालीस वर्षको अल्पायुमा नै।“
कृतकार्य छौं उनका सृजनाहरूबाट। मिथ्या भौतिक अस्तित्व वहन गरेका कायालाई त्यागेर गएतापनि ईश्वरले उनको अंशमा पस्किदिएको छोटो उमेरभित्र उनले सिर्जेका महत्वपूर्ण शिल्पले हामीलाई युग-युगसम्म तृप्ति दिइरहनेछन्। उनले सुम्पेर गएका कृतिहरू सदैव धुपीका पातहरूझैं जियालो भएर रहनेछन्। अभिव्यक्तिका उनै कुबेरलाई अन्तर्तहदेखि चढ़ाउँदछु- अश्रुपूर्ण श्रद्धाञ्जलीका फूलहरू!

No comments:

Post a Comment