Chandan Lomjel |
मलाई आगो के धुँवा के
विश्वास नै चुँडिसकेपछि
मलाई आँधी के बतास के...'
दार्जिलिङको हाटझोडा घर भएका नरदेन रुम्बा 'मुड' उत्रनासाथ कागजको चिर्कटोमा लेख्न बसिहाल्थे । अनि शब्द-संगीतका जुझारु चन्दन लोमजेल, मणिकमल क्षेत्री, पुरन गिरी वा अरू कोहीका सामु उनी सुनाइहाल्थे । चन्दनकै संगीतमा नारायण गोपालले गाएको 'मेरा सबै रातहरू मातहरू भए' सँगै माथिको 'यो मन नै जलिसकेपछि' गीत पनि नरदेनले स्वर भर्न दिएका रहेछन् । 'नारायण गोपालले गाउने भैसक्नुभएको थियो तर त्यस्तै केही तालमेल मिलेन,' नरदेनले रोजेका नजिकका संगीतकार लोमजेल कान्तिपुरसँग भन्दै थिए ।
गायिका श्रीमती डेजी बराइलीलाई लिएर पलेंटी गायन गर्न दुई साताअघि काठमाडौं उत्रेका चन्दन नेपाल बन्दको मारमा परेर यतै अडकएर बसेका रहेछन् । 'यो फुर्सदमा नरदेन दाजुकै कुरा गरौं न,' मंगलबार साँझको भेटमा उनी भन्दै थिए, 'भारतीय नेपालीमाझ हरिभक्त कटवाल र अगमसिंह गिरीजत्तिकै जातीय चेतना र प्रभाव नरदेन दाजुमा थियो ।'
नरदेन दार्जिलिङकै स्टेट बैंक अफ इन्डियाका कर्मचारी थिए । होचोहोचो कदमा यी मृदुभाषी सधैं कपाल चिटिक्क कोर्ने रहेछन् । मादक पदार्थ सेवनका अलिक रसिक उनी सन् १९७९ को सुरुवाततिर दार्जिलिङ हस्पिटलमा भर्ना भएका रहेछन्, लिभरसम्बन्धी समस्याले । त्यहीबेला चन्दन त्यहाँ भेट्न गएका रहेछन् । 'चिनजानसँगै गीत-संगीतको कुराले हामी केही नजिकियौं,' उनी भन्दै थिए, 'अनि त्यसपछिका केही वर्षसम्म लगातारजसो आइतबारे छुट्टीमा उहाँको घरमा गीत सुन्न-सुनाउन पुगेको थिएँ ।'
त्यही संगतका कारण चन्दनले नरदेनका ३० भन्दा बढी गीत कम्पोजका लागि पाएका रहेछन् । यी गीतमध्ये बढीजसोमा नारायण गोपाल, मीरा राणा, कुमार सुब्बा, डेजी बराइली, बद्री-दुर्गा खरेल, महेश परियारलगायतले स्वर भरिसकेका रहेछन् । काठमाडौंमा रेडियो नेपालले आयोजना गर्ने आधुनिक गीत प्रतियोगितामा पनि नरदेनको एउटा गीत 'बादलको दरबारमा पहाडको मेला' शब्द र संगीत दुवैतर्फ प्रथम भएको रहेछ । यसमा धनञ्जय थापाको संगीत र सूर्य थुलुङको स्वर छ । काठमाडौं आउँदा भने नरदेनको अलिक बढी दोस्ती दिव्य खालिङसँग रहेछ । चन्दनका अनुसार 'मेरा सबै रातहरू' गीत भने १९९० तिर काठमाडौंमा रेकर्ड भएको थियो । 'तर यो गीतपछि भने म र नरदेन दाजु दुवैले गायक नारायण गोपाललाई भेट्न पाएनौं,' उनले सुनाए ।
घरैमा साई-भजन गाइरहने र हारमुनियमसमेत थोरतिनो बजाउने अनि स्केल, नोटेसन, मेजर-माइनरका ज्ञाता नरदेनकहाँ एकपटक गीत माग्दै गायिका डेजी पुगेकी रहिछन् । यसो गम खाएर उनले तुरुन्तै लेखेर दिएछन्- 'कति बग्यो कति बग्यो, पुलमुनि पानी रेसम...' संयोग के भने यो गीतमा नरदेन आफैं पनि संगीत भर्दै रहेछन् । चन्दनले संगीत भरेर सुनाएपछि उनी अचम्म पर्दै भनेछन्, 'म पनि यही स्केल र स्टाइलमा धुन भर्दै थिएँ ।'
अर्को सन्दर्भ छ, कलाकार जीवन गुरुङसँगको । गुरुङको 'अभिनय' भन्ने भिडियो फिल्मका लागि गीत लेखाइमाग्न उनी नरदेनकहाँ गएका रहेछन् । त्यहाँ कस्तो स्थिति थियो भने हिरोले मन पराएकी उही केटीले आफ्नो बिहेमा आइदिन निम्तो दिएपछिको अन्यमनस्क स्थिति थियो । नरदेनलाई जीवनले यत्ति पृष्ठभूमि सुनाएपछि तुरुन्तै लेखिएको रहेछ-
कस्तो खुसी दियौ तिमीले
म किनकिन दुखी दिएँ
जब बहार आयो तिम्रो यहाँ
म किनकिन सुकी दिएँ
कस्तो यो पर्खाल दियौ तिमीले
म किनकिन ढली दिएँ
कस्तो यो उजेलो दियौ तिमीले
म किनकिन लुकी दिएँ...'
दार्जिलिङमा निकै चलेको 'शुभकामना' नाटक र यताको 'बाँच्न चाहनेहरू' फिल्मलगायतमा उनै नरदेनका गीतहरू छन् । अरुणा लामाले गाएको 'फूललाई सोधें कहाँ गयौ' मा पनि उनैको शब्द छ । 'नरदेन दाजुको छुट्टै नाम थियो, क्रेज थियो,' चन्दन एकोहोरो सम्झँदै थिए, 'तर उहाँ व्यवहारमा अत्यन्त सरल र सामान्य हुनुहुन्थ्यो । मलाई गीत त बनाउनु तर राम्रो शब्द भएको मात्रै छानेर बनाउनु -कम्पोज गनर्ु) है भाइ भन्नुहुन्थ्यो ।' नरदेनका गीतहरूको संकलन 'नरदेन रुम्बाका कृतिहरू' प्रकाशित छ ।
नरदेनका श्रीमती सावित्री र छोरा अश्वत भने अहिले दार्जिलिङमै छन् । यी 'भर्सटाइल' गीतकारले दार्जिलिङको गोर्खाल्यान्ड मुभमेन्टलाई धेरै नजिकबाट बोध गरेका रहेछन् । सायद त्यो मुभमेन्टमा परेर उनको परिवार समेत छिन्नभिन्न भएको पो थियो कि ? 'सन् १९८२ तिरको कुरा हो, एउटा भेटमा 'लोकधुनमा आधारित एउटा काम गरौं न भाइ' भन्दै नरदेनले 'अन द स्पट ट्युनिङ' का लागि आग्रह गरेछन् । अनि गीतको स्थायी लेखिसकेर उनले सुनाएछन्-
'कसैले सोधे
कुन हो तिम्रो गाउँ
म भन्छु-
गराँस फुल्ने गाउँ छ सानो
दुई गाँस जुट्ने ठाउँ छ सानो...'
त्यसपछि निकै भावुक बनेका उनले सरासर शब्द टिपाउँदै गएछन् । र, सामुमा बसेका अर्का गीतकार पुरन गिरीले त्यो टिप्दै गएछन् । त्यसबेलाको 'अन द स्पट' सृजनालाई गीतको केही अंश काँटछाँटसहित अहिले गायक अमृत गुरुङले गाएर उनको पछिल्लो एलबम 'मेरो देश' मा समेटेका छन् । चन्दनका बुझाइमा यो गीत 'सायद नरदेनको आफ्नै कथा पनि हुन सक्छ ।' द्वन्द्व अथवा राजनीतिक संक्रमणका बेला घर-परिवारबाट बेपत्ता भएका बाजे, बाबु, बज्यै, आमा, बहिनी, दिदी, भाइको यो कथा अहिले पनि यताको नेपाली समाजमा मिल्दो छ । सन् १९९२ मा ५० वर्ष उमेर पनि नपुग्दै यो धर्ती छाडेका नरदेनको त्यो 'दर्दभरे' गीत दार्जिलिङका केही पाखाबस्तीमा चन्दन स्वयंले पनि गाएका रहेछन् । तर अहिले नेपथ्यका गायक अमृतले यसलाई अझ व्यापक बनाएका छन् । 'क्यान्टटा' बन्न
सक्ने यो लामो गीतको 'ओरिजिनल' शब्दमा रहेछ-
'पूर्व र पश्चिम फाँटभरि नै
नदीदेखि सागरसम्म
छाती तोडियो हाड फोरियो
रातो रगतको रेखा कोरियो
सिमाना तर भएन तिम्रो
नाम्लोको डाम गएन तिम्रो
भाग्यले केही सहेन तिम्रो
के बोली माग्छौ ? के चोली माग्छौ ?
आस खोज्दै के झोली माग्छौ ?
माटो उठाऊ निधारअघि
इतिहासको बेग्लै लहर हेर...।'
http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=216519
No comments:
Post a Comment