Thursday, May 15, 2014

किनारामा त नोर्देन रुम्बालाई पनि पारेका रहेछन् - मनोज बोगटी, दार्जिलिङ

Manoj Bogati
शान्त पोखरीमा अचानक हलचल मच्चिनेगरी रबिन राईले एउटा दुङ्गा हानिदिए। खासैमा हो भने भर्खरभर्खर मात्र विकास गोतामेका सम्पूर्ण कविता किताब खोजि निकालेँ र पढ्न थालेँ। लाग्यो, गोतामेलाई किनारामा पारिएको कारण तिनका राजनैतिक कविताहरू थिएछन्। तर गोतामेले आफ्नो समयलाई बेस्सरी लेखेका रहेछन्। अहिले साहित्यमा ‘समय लेखन’ एक डिस्कोर्सकोरुपमा अघि ल्याइनुपर्छ भन्ने मान्यतामा छु म।
गोतामेका कविताहरूले दिएको चेतना, त्यो हस्तक्षेप, निर्भिकता कुनै कविले दिएको लाग्दैन मलाई। एकखाले शालिनता पालेर कविताको सौन्दर्यको मात्र रतिमा लागेका कविहरूको कविता लाखौं पढियो होला तर खासैमा आफ्नै माटोको गन्ध आउने कविता कमै मात्र पढियो। रबिन राईले नोर्देन रुम्बाको ब्लग बनाएका रहेछन्। कवि राजा पुनियानीले त्यसको लिङ्क सार्वजनिक गरेपछि मैले त्यो हेर्ने सौभाग्य प्राप्त गरें। एक एक कोट्याउँदै जॉंदा लाग्यो, विकास गोतामेलाई झैं किनारामा त नोर्देन रुम्बालाई पनि पारेका रहेछन्।

नेपालका भाइसाथी दुतेन्द्र चाम्लिङले मसित धेरैपल्ट नोर्देन रुम्बाका कविताबारे बताइसकेका छन्। तिनको सामु नोर्देन रुम्बाको कुरा गर्न मलाई सधैँ नै लाज लाग्छ। किन भने मैले न त रुम्बाका गीतहरू सुनेको छु न त कविता पढेको छु।

अँ, चन्दन लोम्जेलले सुबास घिसिङले गरेको आन्दोलनकालमा गैरीबासमा कसैले ‘सोधे, के हो तिम्रो नाम....’ भन्ने गीत गाएको सुनेको हुँ। हिजोअस्तीसम्मै मलाई त्यो गीत चन्दन लोमजेलकै हो भन्ने लागेको थियो। तर त्यो नोर्देन रुम्बाको क्यान्टाटा हुने लायक अति चर्चित गीत रहेछ। यो गीत हामीले घॉंस काट्दा, खेताला जॉंदा मात्र गाएनौं मरौ घरमा पनि गायौं। हामी केटाकेटी थियौं अनि गीत कहॉं गाउनु हुन्छ कहाँ हुँदैन भन्ने कुरा थाहा थिएन। यही गीतको कारण मरौ घरमा हप्की खाएको छु मैले।

नोर्देन रुम्बाको किताब खोजेको धेरै भयो। एउटा पत्रिकाको निम्ति मैले साथीहरूसित विकास गोतामे, नोर्देन रुम्बा छुटाउनुहुँदैन भनिरहेको थिएँ। कवि राजा पुनियानीले जीवन थिङ पनि त्यसमा सामेल गर्नु भो। पछि पारेका यी शक्तिशाली कविहरूलाई फेरि विमर्षको केन्द्रमा ल्याइनुपर्छ भन्ने विचार हामीले पनि राख्दै आइरहेका छौं। रबिन राईलाई धेरै धेरै धन्यवाद। हुन सके रुम्बाको जम्मै गीत र कविता यो ब्लगमा हालिए राम्रो होला। मैले पाएको खण्डमा म पनि पठाउनेछु।

रबिन राईको यो प्रयासलाई हामी सबैले सफल बनाउनुपर्छ। तपाईँहरू जो जसलाई रुम्बाबारे जेजति थाहा छ, बताइदिनुहोला ।

No comments:

Post a Comment