Wednesday, May 14, 2014

नरदेन रुम्बाको बारेमा - रबिन राई


Rabin Rai
टिस्टाको बगरमा रगत धोएर
खुकुरी पखाल्यौं हामीले
साक्षी छ इतिहास यहाँको
के पखाल्यौं हामीले
......
बोल्न सक्छौ भने धुपीलाई सोधे हुन्छ
बोल्न सक्छौ भने  चियाबारी छ यहाँ
बोल्न सक्छौ भने  बाँसघारी छ यहाँ
सयपत्रीको माला लाएर लडाइँमा जाने हामी हौं
अरुमात्रै लडेन, लडाइँ लड्ने हामी हौँ
अब हामी लड्छौं त आफ्नै लडाइँ लड्छौं
अब हामी बढ्छौं त आफ्नै लागि बढ्छौं

उनले किन लेखे यस्तो? नलेखेको भए पनि त हुन्थ्यो ।
नेपाली साहित्यको श्रीवृध्दि गराउनाका साथै जातिय स्वाभिमानको लागि लेख्दा शासकहरु नाखुश पक्कै भए होलान् । उनको जीवनको आधार जागिर खुस्काइदिने धम्की या जीवन नै सिध्याइदिने धम्की पक्कै पनि खाए होलान्  । तर अस्तित्वहीनता, परनिर्भरताको पीँडाले त्यस्ता धम्कीको प्रवाह गरेनन् होला । त्यसैले अक्षरहरुलाई आवाज बनाउन उनले घोटिरहे होलान्,चम्काइरहे होलान्। त्यसैको प्रतिफल त काठमाडौंमा काव्य यात्रामा रहेका  युवा कवि मनोज बोगटीहरु आज कति निर्धक्क भनिदिन्छन् -"हाम्रो स्वतन्त्र गोर्खाल्यान्डको आन्दोलनको दोस्रो चरण संपन्न भयो अब तेस्रो चरणको निम्ति जनतालाई तैयार गर्नुपर्नेछ । त्यसैले हाम्रा कविताहरु क्रान्तिकारी हुनु जरुरी छ" । ३ दशक अघि नरदेनहरुले रन्काएका क्रान्तिको फिलिङ्गो अझै निभेको रहेनछ । बोगटी जस्ता कविको यस्तो अभिब्यक्तिमा नरदेन परलोकमा मुस्कुराइरहेका होलान् ।

"मलाई के सरोकार उनीहरूले गोर्खाल्यान्ड पाउन् कि नपाउन ? मैले किन उनीहरूको मुध्दामा चासो दिनु? मलाई के मतलब नरदेनका क्रान्तिकारी कविताको ? त्यो त बिल्कुलै म निरपेक्ष छ । मैले त चलचित्रमा बाहेक दार्जिलिङ देखेको पनि छैन । मेरो टाढा भन्दा पनि टाढाका कोही आफन्त पनि त्यहाँ छैन ।" मलाई यस्तो लाग्नु पर्ने हो तर जब  उनले दिएका  मेरा  प्रिय गीतहरू संझिन्छु म नरदेन रुम्बालाई गुगलमा खोज्न तम्सिन्छु । केही पनि हात नलाग्दा धिक्कार्छु ,"थुक्क गुगल, तँलाई दुनियाँका सबै बकवास थाह छ तर यति दामी गीतकारको कुनै जानकारी छैन?" संगीतकार दिनेश सुब्बालाई सोध्छु,वहाँसँग पनि घुर्मैलो याद बाहेक केही छैन ।

 अम्बर गुरुङ हङकङमा आउनुहुँदा कन्फिडेन्सका साथ सोध्छु ," नरदेन रुम्बाको बारे केही बताइदिनोस्"
"म के बताऊँ उसको बारे । मलाई केही थाह छैन "
अरे, अघि बिहान "हरर बरर ढ्वाङ तानूँ सरर" सामुदायिक कार्यकोगीत हो यसले तत् समयको जीवन पध्दतीको सामाजिक दस्तावेज हो भनेर चर्चा गर्ने  वहाँलाई कसरी त्यस गीतका रचनाकार नरदेन रुम्बाको बारे केही जानकारी नहुनु हो? म आश्चर्यचकित हुन्छु । त्यो संवाद सुनिरहेका छेवाङ दाजुले भने - "के जान्न चाहन्छौ? म दिलाउँछु जानकारी ।" मातेको बेला को आश्वासन ठानेको मैले तर एकदिन डिनरको निम्तो र  एउटा पुस्तक ,एक प्रति फोटो , श्रीमती साबि रुम्बाको हस्त लिखित नरदेनको ब्यक्तिगत विवरण सहित पाउँछु । प्यासीले कुवा भेटेको अनुभव हुन्छ, खोजे देवता पनि भेटिने कुरामा विश्वास लाग्छ ।

 जब म नरदेनका कविताहरु जीवनमा  प्रथम पटक पढ्छु म उनको त्यो समयको चेतना स्तर, हक्की अभिब्यक्ति र कविता शैलीले अति नै प्रभावित  हुन्छु । उनी त राम्रा गीतकार मात्रै नभएर अत्यन्तै प्रतिभाशाली कवि पनि रहेछन् ।  जति पढ्दै जान्छु उनका भावनाहरुमा डुब्दै जान्छु, म नरदेन बन्दै जान्छु  । अनि त्यसैबीच एउटा कविता फुत्त  निस्किन्छ
"साँच्ची नै अमर दाइ, तिमीले बनेको जस्तो भयो
यो जिन्दगीको के कुरा
तिम्रा ताराहरु, तिम्रा फूलहरु, तिम्रा फलहरु
सबै त बिर्सनु हुँदोरहेछ"

अम्बर गुरुङलाई पलायनवादीको आरोप लगाउने यी कविलाई  अम्बर गुरुङले नचिने झैं गर्नुको कारण यो कविता थियो सायद । नत्र १९८० को दशकमा नाटक, साहित्य र संगीतको दुनियाँमा  छाएका नरदेनलाई नचिन्ने कुरै हुँदैनथ्यो । श्रीमती बिना गुरुङका अनुसार पनि क्षमा दिने कुरामा महासँगीतकार कञ्जुस छन्, अरुणा लामालाई अन्तिम अवस्था सम्म र भक्तराजलाई हालसम्म पनि उनले क्षमादान दिएका छैनन् ।

१९९० मा नरदेनको अवसानसँगै नरदेन ओझेलमा परे । उनको बारेमा कहिँ केही मुश्किलले लेखियो, मुश्किलले कहिँ चर्चा गरियो। त्यही भएर नै मजस्ताहरुले नरदेनको बारेमा थोरै मात्र जानकारी र उनको आकृति हेर्न तड्पिनु पर्यो । हो, बरु तपाईं हाम्रो विवरण इन्टरनेटमा खोजे छ्याछ्याप्ति भेटिन्छ, नरदेन रुम्बा भेटिएनन् । त्यसैले आफ्नो प्रयासमा मैले विकिपिडियामा उनको जानकारी राख्ने कोशिस गर्दा पनि मापदण्डहरुको अभावमा विकिपिडियाले जानकारी नराखेकोले अन्तत:  नरदेनको विवरण सहित
एउटा ब्लग बनाइएको छ । आज गुगल गर्दा नरदेनका कम्तिमा केही गीतहरु, २ फोटो र यो ब्लग आउँछ ।

 मे महिना नरदेन रुम्बाको जन्म तिथि तथा पुण्य तिथि पनि परेकोले उनको स्मृतिमा कार्यक्रम गरौं भन्ने सादर अनुरोधलाई  स्वीकार गरेर दिनेश सुब्बा दाइले  कलाकार टोली तथा संगीत संयोजनको कष्ट उठाइदिरहनुभएको छ । यो कार्यलाई मूर्त दिने छेवाङ दाइ, प्रतिक दाइ, आकाश भाइको साथ र सहयोग सह्रानीय छ । श्रीमती रुम्बाले हाम्रो प्रयासलाई धन्यवाद पठाउनुभएको रहेछ, आज

युट्युबमा पनि एकजना हामीजस्तै एक अपरिचित ब्यक्तिले नरदेनको कृति सँगालिदिएकोमा धन्यवाद लेखेको रहेछ ।यतिखेर मैलेअफिसमा घन्टौं स्क्यान गरेर पठाएको नरदेनका कविताहरु काठमाण्डौमा कवि भाइ दुतेन्द्र चाम्लिङ कम्तिमा ५, ५ पटक पढ्दै होला, उसको प्रतिभावान कलमबाट पनि केही आऊँला नरदेनको काब्यशैलीमा ।  नरदेन, तिमीले जुन कृति दियौ हामीलाई, हामी त्यसको कदर गर्ने हैसियत राख्छौं । सायद, तेस्रो चरणको गोर्खाल्यान्ड आन्दोलनमा म पनि भन्छु होला - "
गोली खाएर छातिले
तिमी जब ढल्दछौ कुनै देशको
एउटा कुनै बिरानो साँधमा
आत्मसम्मानको निम्ति आत्मविश्वासले
मरेका छै भने
तिम्रो मृत्यु महान हो
...
तिमी बलिदान भएकै साँझ
धरतीमा उज्यालो धेरै घट्छ
अनि आकाशमा एउटा तारा बढ्छ "

र म भन्दिनँ होला -"मलाई के सरोकार उनीहरूले गोर्खाल्यान्ड पाउन् कि नपाउन ? मैले किन उनीहरूको मुध्दामा चासो दिनु?मलाई के मतलब नरदेनका क्रान्तिकारी कविताको ? त्यो त म निरपेक्ष छ । मैले त चलचित्रमा बाहेक दार्जिलिङ देखेको पनि छैन। मेरो टाढा भन्दा पनि टाढाका कोही आफन्त पनि त्यहाँ छैन।" न्याय र स्वतन्त्रताका आवाज म निरपेक्ष हुन सक्दैन, मानवता र पहिचानको आवाज म निरपेक्ष हुन सक्दैन ।

http://nordenrumba.blogspot.hk/
यो वेबसाइटलाई तपाईंको सहयोगको पनि आवश्यकता छ, तपाईँसँग भएका नरदेन सम्बन्धि जानकारी रहेमा उपलब्ध गराइदिनुहुन विनम्र अनुरोध छ ।

1 comment:

  1. रबिन दाइ हजुरको यो ब्लग मेरो लागि मरभुमीमा कुवा बनेको छ, धेरै अघि देखि म नि नोर्देन दाइ को बिषयमा सोधखोज गरिरहेको थिए I चन्दन सरको फोन नम्बर खोज्ने असफल प्रयास नि धेरै चोटी गरे मैले I
    हजुरलाइ भने आन्तरिक हृदय बाट नै धेरै धन्यबाद दिनचाहन्छु, हजुरको ब्लगले मलाई धेरै सहयोग पुराएको छ I
    म सिलिगुडी को एफ एम मा भेग कै एक मात्र नेपाली कार्यक्रम संचालन गर्छु, यस पालि (१९.३.१६) को कार्यक्रम स्वर्गीय नोर्देन रुम्बा ज्यु लाइ समर्पण गर्दै वहाकै गीत हरु साभार गर्दैछु साथै वहाको जीवनी लाइ पनि राख्ने प्रयास गर्दैछु,
    म हाम्रो भाषा साहित्य अनि संस्कृति श्रस्टा संगीत लाइ माया गर्छु.

    शुभकामना अनगन्ती

    भाइ समीर छेत्री कश्यप

    ReplyDelete